top of page

बलि भनेको उपहार हो हत्या होइन

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 26, 2017
  • 6 min read

अमर कोश र मेदिनी कोशका अनुसार बलि शब्दले उपहार समर्पण, पूजा, नैवेद्य, दैत्यराज बलि, जस्ता अर्थहरू जनाउँछ । बल प्राणने धातुमा इन् प्रत्यय गरेर बलि शब्द बन्दछ । वलि शब्दमा दान शब्द मिलेर बन्ने बलिदान शब्दले बलिको जस्तो सर्वात्म समर्पण ठूलो त्याग या महत्सेवा अर्थ पनि जनाउँछ । बलि बैश्वदेव कर्ममा काकबलि, श्वानबलि, गर्दा कागलाई र कुकुरलाई अन्नादिको बलि उपहार दिइन्छ । उनीहरूको हत्या गरिदैन । त्यसैले बलि भनेको उपहार हो हत्या होइन ।

धर्म र पशु हत्या- जीव, जगत् र जगदीश्वरलाई निष्काम प्रेम र प्राणी मात्रको विशुद्ध सेवा, हित, मंगल, भलो र उपकार गर्नु नै सच्चा धर्म हो । सज्जनहरुले रन्तिदेवले झै आफूले भोकै बसेर पनि अथवा ऋषि दधीचिले झैं आफू मरेर पनि अरुको प्राण रक्षा गर्दछन् भने दुर्जनले आफ्नो सुख, स्वाद, तृप्ति र सन्तोषका लागि अरुलाई दुःख दिने र मार्ने गर्दछन् । आफ्नै शरणमा बसेका निरीह, निरपराध र अबोध पशुको हत्या त झन घोरातिघोर अत्याचार र पाप हो तर स्वाद लोलुपता, स्वार्थपरता र मोह भावले वैरो भएको व्यक्तिले अरुको चित्कार, करुणक्रन्दन र आर्तनाद कसरी सुन्न सक्छ र दया नै धर्मको मूल हो भने पशुहत्या निर्दयता र क्रूरताको पराकाष्ठा ।

त्यसैले दयावान् या धार्मिक व्यक्तिले पशुपंक्षी र वनस्पति जगत् सबैलाई दया र प्रेम गर्दछ, तिनको रक्षाका निम्ति अहर्निश प्रयत्न गर्दछ भने धर्महीन व्यक्तिले अरुको हत्या र मांसभक्षण गर्दछ । अरुको हत्या गर्ने र मांसभक्षण गर्ने मनुष्य कुनै पनि दृष्टिले धार्मिक हुनसक्दैन ऊ प्रकृति र परमेश्वरका दृष्टिमा दण्डनीय अपराधी मानिन्छ ।

देवी पूजामा पशु हत्या- जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू खुशी हुन्छन् भनेर उद्घोष गर्ने वैदिक सनातन हिन्दु धर्ममा मात्रै नारीको ईश्वरको रूपमा पूजा हुन्छ । अन्य धर्ममा पुरुषको मात्रै पूजा गरिन्छ । सबै धर्मशास्त्र देवीदुर्गालाई या देवी सर्वभूतेषु मातृरूपेण, दयारूपेण, संस्थिता भनी प्रतिपादन गरिएको छ । त्यसैले मातादुर्गा सम्पूर्ण प्राणीहरूकी वात्सल्यमयी, दयामयी आमा हुनुहुन्छ । के कुनै आमालाई उनकै सन्ततिको हत्या गरी रगत र मासु चढाएर खुशी बनाउन सकिएला ? के देवीदेवताले रगत र मासु खान्छन् ? बाल्मीकि रामायणका अनुसार राक्षसाः पिशिताशनाः अर्थात् पिशित (मासु) अशन (खाने)हरू राक्षस् हुन् । तर देवताहरूको भोजन घ्यू हो ।

देवा आज्यपाः यजुर्वेद शतपथब्रहमाणका अनुसार चरुर्वै देवानामन्नं अर्थात् चरुपनि देवताको आहार हो । तर कुनै पनि वैदिक ग्रन्थमा कतै पनि देवीदेवताले मासु खान्छन् भनेर भनिएको पाइर्दैन । पद्मपुराणको पद्मोत्तर खण्डको १०४औं अध्यायमा स्वयं दुर्गादेवीले भगवान् शिवसँग भन्नुहुन्छ यूपे वध्वा पशून् हत्वा…………….आत्मादीन् घातयेत् स तु अर्थात् हे भगवान् शिव यूप मौलोमा बाँधेर क्रूरतापूर्वक पशुको हत्या गरी वंधुहरूको साथमा मासु खाने व्यक्ति मारिएको पशुको शरीरमा भएका रौं जति वर्षसम्म असिपत्रवन नामक नर्कमा पर्ने छ । हे भोलेनाथ जसले मेरो र हजुरको नाम बेचेर आफ्नो श्रीमतीको छोराछोरीको या कूलको नाममा पशु बलिको भाकल गरेर पशु हत्या गर्ला ऊ आकाशमा चन्द्रसूर्य रहेसम्म नर्कमै बसी रहोस् । जसलाई हामी रगत र मासुद्वारा अज्ञानले पूजा गर्छौ उनै माता दुर्गाले भनेको कुरा हामीलाई थाहा छ त ?

यज्ञमा पशुहत्या कसरी सुरू भयो ?-

महाभारतमा भनिएको छ– सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां बलिस्तथा धूर्तै: प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते –अर्थात् मदिरा, माछा, मासु र द्विजको बलि जस्ता कार्यहरू धूर्त फटाहाहरूले आफ्नो स्वार्थ सिद्ध गर्न सुरू गरेका हुन् वेदहरूमा यसको विधान छैन । महाभारतको यस तथ्यबाट स्पष्ट रूपमा बुझिन्छ कि वर्तमानमा वेद, पुराण, स्मृति भन्दै पशु बलिको पक्षमा भनिने श्लोकहरू धुर्तहरूले पछि वेदादिग्रन्थहरूमा मिलाइदिएका हुन् । मध्यकालमा जिह्वालोलुपहरूले आफ्नो जिब्रो र पेटको पूजाका लागि आफ्नो पापमय कार्यलाई धार्मिक खोल ओढाएर आफू निन्दाबाट बच्नका लागि चातुर्यले स्वरचित कल्पित श्लोकहरूलाई प्रेश आदि नभएको समयमा वेदादिग्रन्थहरूमा मिलाएर त्यसैलाई शास्त्र प्रमाण भन्दै यज्ञमा पशु बलि शुरु गरेका हुन् । देवान् पितृन् समभ्यर्च्य, यज्ञशिष्टं मांसं भक्षणीयम्, प्राणत्यये क्रतौ श्राद्धे अर्थात् देवता पितृलाई चढाएको मासु, यज्ञ शेष मासु र प्राणसंकटको बेला खाइएको मासुले दोष लाग्दैन भन्ने जस्ता वचनहरू शास्त्रमा पछि मिलाइएका हुन् । आफूलाई भने सानो चोट लाग्दा पनि चिन्तित हुँदै अनेकौं डक्टर वैद्यहरू कहाँ दौडिने तर बोल्न नसक्ने अवोध निरपराध पशुहरूलाई भने मारेर सेवन गर्ने के यही मानवता हो एकाइसौं शताब्दीको क्वान्टम फिजिक्सको युगमा यति धेरै रुढिवादिता के उचित होला? बुद्धि भएको मनुष्यले एक पटक सोच्ने समय आएको छ ।

पशु को हो ?-

पाशोमा बाँधिएकोलाई पशु भनिन्छ । मानिस पनि काम, क्रोध, लोभ, मोह र अहंकारको पाशोमा बाँधिएको छ । यिनै पाँच विकारहरूको बलि त्याग गर्नु नै वास्तविक बलि हो । तन्त्र ग्रन्थमा भनिएको छ कामक्रोधौ पशुतुल्यौं विघ्नकृतौं बलिं दत्वा जपं चरेत् अर्थात् मनुष्यलाई विघ्न वाधा दिने काम क्रोध नै पशु हुन् । यिनको बलि दिएर ईश्वरको उपासना गर । यिनै पाँच विकाररूप पशुको बलि नै वास्तविक पंचबलि हो । बोका, रागा, हाँस आदिको हत्या त क्रूर अत्याचार हो ।

विज्ञान पशु हत्या र पर्यावरण- पृथिवीमा बढिरहेको तातोको कारण आज पृथिवी नै संकटमा छ । यसको मूल कारण कार्वन, नाइट्रसअक्साईड, मिथेन जस्ता ग्यासहरू हुन् र यि ग्यासहरू मुख्य रूपमा मासु र मासुजन्य उत्पादनकै कारण उत्पन्न हुन्छन् । पर्यावरण रक्षाका लागि सम्पूर्ण वैज्ञानिकहरू अत्यन्त चिन्तित हुँदै भन्दछन् – यदि धर्तीलाई साच्चै नै बचाउने हो भने मासु छोड्नुहोस् र हरियाली बढाउनुहोस् । महान् वैज्ञानिक डा. मदनमोहन बजाज र विजयराजका अनुसार भूकम्प जानुका कारणहरूमा प्रमुख कारण ई पी वेभ्स प्राणीहत्या गर्दा प्राणीहरूको क्रन्दन या चित्कारमा उत्पन्न हुन्छ ।

नासाका वरिष्ठ जलवायु विशेषज्ञ डा.जेम्स ह्याम्सेन भन्नुहुन्छ – कसैले कार्वन उत्सर्जन कम गर्न चाहेमा सबैभन्दा प्रमुख कदम नै शाहाकारी जीवनशैली हो ।

यूएनका वैज्ञानिक डा राजेन्द्र पचौरी भन्नुहुन्छ – कृपया मासु कम खानु होस् यसले अत्यधिक कार्वन निकाल्छ । १ किलो मासुले 36.4केजी कार्वनडाइअक्साईड उत्पन्न गर्छ।

जेफ आनहाङ्ग र रोवट गुडल्याण्ड भन्नुहुन्छ – 51% ग्लोबल वार्निङ्गको कारण मांसाहार र पशु उत्पादन नै हो ।

युनिर्भसिटि अफ सिकागोका गिडोन एसेल र पामेला मार्टिन भन्नुहुन्छ – एक व्यक्तिले मासु खान छाड्दा प्रति दिन 4.1केजी कार्वनाडाइअक्साईड उत्पन्न हुनबाट बचत हुन्छ त्यस्तै भारतकी पूर्व वातावरण मन्त्री मोनिका गान्धी भन्नुहुन्छ – यदि कसैले पृथ्वी बचाउन चाहन्छ भने उसले सबैभन्दा पहिलो कार्य नै मांसाहार बन्द गर्नुपर्ने हुन्छ ।

मासु र स्वास्थ्य-

संसारमा बढिरहेका अनेकौं भयावह रोगहरूको प्रमुख कारण कोलेस्ट्रोल, ट्राइग्लिसिराइड, युरिया, युरिक एसिड, टेनिया सोलिठम जस्ता तत्वहरू हुन् यि तत्वहरू मासु र अण्डामा प्रशस्तै पाइने हुनाले मासु र अण्डाको सेवनले सयौं प्रकारका रोगहरूलाई जन्म दिन्छन् । मांसाहारबाट किड्नीमा युरेट जम्मा हुने हुनाले किड्नीका लागि मांसाहार अत्यन्तै घातक छ । मासु र अण्डामा पाइने अत्यधिक कोलेस्ट्रोलले उच्च रगतचाप, कोरोनरी हृदयरोग, प्यारालाइसिस, हृदयघात, स्ट्रोक जस्ता असाध्य रोगहरू लाग्दछन् । हाड जोर्नी दुख्नुको प्रमुख कारण युरिक एसिड मासुमा अत्यधिक पाइन्छ भने छारे रोग (मिर्गी) को कारण टेनिया नामक नाम्ले जुका पनि मासुमा पाइन्छ । मासु प्रयोगले मस्तिकमा सेराटोनिनको मात्रा घट्न जान्छ जसले अनिन्द्रा, चिन्ता, भय, अशान्ति, तनावजस्ता समस्याहरू जन्मन्छन् । अण्डाको सेतो भागमा पाइने एडविन वायोटिक कम्प्लेक्स नामक लस्सादार पदार्थले ग्याष्ट्रिक, कोलाइटिस, एग्जिमा जस्ता रोगहरू लाग्दछन् ।

अण्डामा डिडिटी र बिएचसि जस्ता घातक विषहरू पनि पाइएको छ भने फार्ममा प्रयोग गरिने साइट्रानार्क, सेनिथिन, हार्मोन, सुई र विषाक्त औषधिहरूको अत्यन्तै प्रतिकूल प्रभाव देखिएको छ । दम, व्रोङ्काइटिस कफ जस्ता रोग भएका व्यक्तिले अण्डा विल्कुलै खानुहुँदैन । जण्डिस भएको व्यक्तिले भुलले मासु खाँदा कैयौंले ज्यान नै गुमाएका उदाहरण प्रशस्तै पाइएको छ । जर्मनका वैज्ञानिक प्रो.एम्न वर्ग भन्नुहुन्छ – अण्डाले 53.83% कफ पैदा गर्ने हुनाले कफ रोगीका लागि अण्डा अत्यन्त घातक छ । त्यस्तै डा मरिसन लस एंजिल्स, डा मूर, डा हंटर आर्थर न्यूयोर्क, डा डि एन केस एम डी, डा एम ही टीड डेनमार्क, डा यम नर्वेस्ट, डा ए पाचमेन, डा राल्वोर न्यूवर्ग जस्ता विश्वविख्यात वैज्ञानिकहरूले मासु र अण्डा मानव स्वास्थ्यका लागि हितकारी नभई अत्यन्त घातक भनी बताएका छन् । व्यापारिक दृष्टिले मासु र अण्डाका एकतर्फी विज्ञापनहरूले गर्दा र विज्ञानको यो खोजलाई जनजनमा नपुर्यााइएकाले नै अण्डा र मासु स्वास्थ्यका लागि हितकर छन् भन्ने ठूलो भ्रम छ तर पश्चिममा यो खोजलाई बुझेका लाखौं व्यक्तिहरू मांसाहार छोडी अत्यन्त तीव्र गतिमा शाकाहारी बन्दै गइरहेका छन् ।

मानिस शाकाहारी प्राणी हो- मानिसमा तिखा नङ र दाँत नहुनु, रातिमा आँखाले नदेख्नु, आन्द्रा छोटो न हुनु, शरीरबाट पसिना आउनु, पानी ओठले पिउनु, कलेजोबाट अम्लीय पदार्थ पर्याप्त ननिस्कनु, मुखमा क्षारीय रसायन टायलिन आउनु, जन्मदा नै आँखा खुल्नु जस्ता गुणले मनुष्यलाई मांसहारी प्राणीदेखि सर्वथा अलग सिद्ध गर्दछन् । त्यसैले मासु र अण्डा मानव शरीरको प्रकृति विरुद्धको भोजन हो । प्रकृति विरुद्ध भोजनले रोग लाग्नु कुनै आश्चर्यको कुरा होइन । दशै नजिकिदै गर्दा स्वाइनफ्लु, वर्डफ्लु जस्ता रोग फैलिएकाले सबैमा मासुप्रति सजकता बढ्दै गएको छ ।

विश्वका अधिकांश महापुरुषहरू शाहाकारी –

एडिसन, आइन्स्टाइन, न्युटन, डार्विन, निकोला टेस्ला, हेनरिफोड जस्ता वैज्ञानिकहरू दा भिन्चि, इमर्शन, जर्ज वर्नाड शा, जोन रविन्स, मार्क ट्वेन, भोल्टेयर, टाल्सटाय जस्ता लेखकहरू जिसस, बुद्ध, सुकरात, कन्भ्यूसियस, लाओत्सु, फाइथागोरस, सेन्ट फ्रान्सिस जस्ता धर्म गुरु र दार्शनिकहरू राजकुमारी डायना, महात्मा गान्धी, डा मनमोहन सिंह, अब्दुल कलाम, सचिन तेन्दुलकर, अमिता बचन, क्याट्रिना, हेमा, माधुरी दीक्षित, निखिल उप्रेति, मदनकृष्ण, कृष्ण सिटौला, लक्ष्मण घिमिरे, दलाइ लामा, मोहम्मद अलि, बुल्ले शाह, मोहम्मद रहिम, डा.राजेन्द्र प्रसाद, जर्ज ह्यारिसन, अलेक्जेन्डर दार्गात्ज, टिना टर्नर जस्ता प्रसिद्ध व्यक्तिहरू सबै शाकाहारी हुन् ।

हात्तीको विशाल शरीर र शक्ति, घोडाको फूर्ति, गैडाको भिमकाय शरीर शाकाहारबाट नै निर्मित हो ।

मांसाहारभन्दा शाकाहार पोषिलो

मासु र अण्डा सर्वाधिक प्रोटिनयुक्त भनी अत्यन्त भ्रामक प्रचार गरिएको छ । तलको फुड भ्यालु चार्टबाट यो कुरा स्पष्ट बुझ्न सकिन्छ ।

वस्तु प्रोटिन प्रतिशतमा) क्यालोरी १००ग्राममा)

अण्डा १३.३% १७३ मासु १८% १९४ तील १८.३% ५६४ जिरा १८.७% ३५६ पेस्ता १९.८% ६२६ बदाम २०.८% ६५५ काजु २१.२% ५९६ चना २२.३% ३३३ केराउ २२.९% ३५८ मास २४% ३५० मुङ २४% ३३४ पनीर २४.१% ३४८ मसुरो २५.१% ३४६ मेथी २६.२% ३३३ मुङफली ३१.५% ५४९ नौनी ३५.३% ९०० दुधपाउडर स्प्रेटा ३८.३% ३५७ भटमास ४३.२% ४३२

१ केजी मासु उत्पन्न गर्न ७ केजी अन्न चाहिन्छ । विश्वको ४३% अन्न र ८५% भटमास पशु पालनमा सिध्याइन्छ । विश्वको ७०% शुद्ध पानी मासु उत्पादनमा खर्च गरिन्छ । प्रति वर्ष ७६ करोड टन अन्न पशुलाई खुवाइन्छ । एकातिर ९० करोड मनुष्यहरू भोकै सुत्छन् भने ३ अर्व मनुष्यहरू कुपोषणका सिकार भएका छन् । विश्वमा ३३% मनुष्यलाई मुटु रोग छ । मासु छोड्ने हो भने मासुको कारणले लागेको ५०% मुटु रोगमा कमी आउँछ भने ८०% मुटुको सर्जरी गर्नु पर्दैन मासु छोड्नाले १५ वर्ष अधिक बाँच्न सकिन्छ । त्यसैले शाकाहारी बनौं । मानव अधिकार मात्रै होइन पशु अधिकारको पनि रक्षा गरौं ।

सबै प्राणीलाई मनुष्य जस्तै बाँच्ने अधिकार छ । अतः उनीहरूको जीवन रक्षा गरी प्रकृति र परमेश्वरको दृष्टिमा असल, उपयोगी र सच्चा मनुष्य बनौं । दशैंलाई हिंसाको होइन प्रेम र करुणाको पर्व बनाअौं । मन्दिरलाई स्वच्छ र पवित्र बनाई पर्यटकहरूको संख्यामा वृद्धि गरी देशको आर्थिक वृद्धि गरौं ।


Comments


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page