top of page

घटस्थापना : पूजाविधि र शुभसाइत बिहान ९ः४१ मिनेटमा

  • Writer: Astro Simara
    Astro Simara
  • Sep 21, 2017
  • 4 min read

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । यस पटक २०७४ सालको दुर्गापूजाको पहिलो दिन गरिने मुख्य कृत्यका निमित्त घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । घटस्थापनाका दिन दुई महत्वपूर्ण कार्यहरू सम्पन्न हुन्छन्, जसमध्ये पहिलो काम जमरा राख्ने हुन्छ भने अर्को काम घट अर्थात् कलशको स्थापना गरी देवी-देवताको आवाहन गरी नवरात्रीको पूरा अवधिका निमित्त प्रतिष्ठा गर्नु हो ।

नेपाली परिवेशमा सामान्यतया घटस्थापनाका दिन बिहानै झिसमिसेमा उठी नित्यकर्म समापन गरी नदी, खोला, बगर वा आफूलाई पायक पर्ने कुनै पवित्र स्थानमा गई चोखो बालुवा वा पाँच ठाउँको पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने काम गरिन्छ । जौलाई परापूर्व कालदेखि नै वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । जमरा उमार्न ठिक्क बनाइएको ठाउँ नजिकै पवित्र गङ्गादि तीर्थस्थलको जलले भरिपूर्ण माटोको घडा (कलश) स्थापना गरिन्छ । त्यसरी घडा स्थापना गर्नुपूर्व त्यसको वरिपरि नवरथामा पूजा गरिने नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्तपुराणमा वर्णन गरिएका विभिन्न दिशाका अधिष्ठातृ देवीहरू हुन् – प्रकति – पूर्व, चण्डिका – आग्नेय, भद्रकाली – दक्षिण, सर्वमङ्गला – वायव्य, वैष्णवी – उत्तर, शिवप्रिया – ईशान, जगदम्बिका – जल, थल र आकाश ।

सनातन धर्मअनुसार घट अर्थात् कलशमा नै सम्पूर्ण देवीदेवता, सप्तसमुद्र, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरूको वास हुन्छ । त्यसैले प्रत्येक शुभकार्यमा कलशको स्थापना र प्रतिष्ठा गर्ने विधान छ । यसबाहेक कलशमा आठ किसिमका मङ्गलसूचक वस्तुहरूको सम्बन्ध हुन्छ । त्यसैले शारदीय नवरात्रीको सुरुमा घट अर्थात कलशको स्थापना गरिएको हो । उक्त घडामा नै समस्त देवीदेवता, तीर्थ, पवित्र नदीहरू, सप्त सागर, सप्त द्वीप आदिसमेतको प्राणप्रतिष्ठा गरी नियम र विधानको पालना गरीआद्याशक्ति जगन्माताको आराधना प्रारम्भ गर्ने गरिन्छ ।

घटस्थापनाको दिनदेखि नै लगातार नौ दिनसम्म प्रत्येक नेपालीहरूको घरघरमा स्थापना गरिएको दशैं घर, गाउँगाउँमा स्थापना गरिएका दुर्गा पूजा स्थल र परम्परादेखि पूजा गरिंदै आएका देवीदेउराली र शक्तिपीठहरूमा विधिवत पूजाआजा प्रारम्भ हुन्छ । यसरी पूजाआजा गर्दा वैदिक मन्त्रोच्चारणका साथमा दुर्गा भगवतीको आराधना र प्रार्थना गरिनुका साथै शङ्ख, घण्ट, डमरू आदि बाद्यबाजा बजाई श्री दुर्गा सप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत आदि ग्रन्थको पाठ र कथाश्रवण गर्ने प्रचलन छ । पूजाको समाप्तिमा प्रत्येक दिन बलि दिने विधान पनि छ ।

नवरात्रको पहिलो दिन तन्त्रोक्त विधिविधानद्वारा घटस्थापना गरी जमरा राखी आआफ्नो कुलाचारअनुसार इष्टदेवीको आह्वान गरी पूजाअर्चना गर्ने साधकबाहेक भगवतीलाई श्रद्धापूर्वक पूजा गरी घटस्थापना गर्न इच्छुक तर विधिविधान राम्ररी नजानेका सर्वसाधारण सबै भक्तजनले समेत श्रद्धापूर्वक सुरुमा सङ्कल्प गरी तलको विधि अनुसरण गरी घटस्थापना गर्दा मनोवाञ्छित फल प्राप्त भई कल्याण हुने विश्वास गरिन्छ ।

घरमा वा दशैं घरमा जगन्माताको प्राणप्रतिष्ठा गरी पूजाको थालनी गरेपछि उपासकले अन्य देवीस्थान, वा शक्तिपीठमा गई देवीदेवताहरूको पूजा-उपासना, प्रार्थना र दर्शनका निमित्त गइरहनु आवश्यक छैन ।

घटस्थापनाको विधान :-

प्रातःकालमा उठी स्नानशौचादि नित्यकर्मबाट निवृत्त भई आँफूले सम्पादन गर्दै आएको नित्यपूजाध्यानादि समेत समापन गरी माटोको घैंटोमा गङ्गाजल, मृत्तिका (माटो), पञ्चपल्लव, पञ्चरत्नको धूलो, सर्वौषधि आदि शुद्ध पदार्थहरू राखी नदीको शुद्ध जलले पूर्ण तुल्याई सुकुन्दा वा दियो बाली पूर्वाभिमुख भई घटस्थापना गर्नुपर्दछ र त्यसको वरिपरि बलौटे पाङ्गो माटोको वेदी बनाई त्यस वेदीमा जौ छरेर जमरा राख्नुपर्छ, कतिपय पद्धतिमा जौसँगै सप्तधान्य मिसाएर जमरा छर्ने चलन समेत छ । कलश स्थापना गरी जौ छरिसकेपछि बलेको दियोमा श्रीगणेश र सूर्यनारायणलाई सम्झेर पूजा गर्नुपर्छ ।

२) पूजाविधि : दाहिने हातमा कुश तीन टुक्रालाई बाँधिएको (त्रिकुशा), जल, फूल, चन्दन, अक्षता, जौ, तील, अबिरसमेत लिएर पूर्व फर्केर मन्त्र पढ्दै आफ्ना इष्टदेव र कुलदेवतालाई सम्झेर आह्वान गरी घटस्थापना गरी जमरा छरेको वेदीमा सङ्कल्प गर्नुपर्छ र कुश, तील, जौ, फूल, अक्षता आदिसमेत त्यहीं छरिदिनुपर्छ । त्यसपछि आफ्ना इष्टदेव र कुलायनको श्रद्धापूर्वक पूजा-अर्चना गर्नुपर्छ र यस दिन दुर्गापूजाको पहिलो दिन भएकाले आद्याशक्ति जगन्माता भगवती दुर्गाको प्रथम स्वरूप शैलपुत्री भगवतीको विशेष पूजा गर्नुपर्छ । शरद्कालीन नवरात्रि पर्वको विशेष महापूजाअन्तर्गत पूजाअर्चना गर्दा क्रमशः देवीलाई शुद्ध जलले स्नान गराउनु पर्छ, पहेंलो चन्दन, देवीको प्रिय रक्तचन्दन, अबिर, सिन्दूरको तिलक, जौ, तील, अक्षता आदि चढाउनु पर्छ । त्यसपछि भगवतीका प्रिय मानिने राता रङ्गका विभिन्न जातका वासनायुक्त फूलका साथै अन्य रङ्गका फूलले देवीलाई सिंगार्नु पर्दछ र श्रृङ्गारका सामाग्रीहरू अर्पण गर्नुपर्दछ । अन्त्यमा फूलको माला र रातो बस्त्र पहिराउनु पर्छ, सुगन्धित धूप र गोकुल धूप सल्काएर कपुरबात्तीले आरती गरिदिनु पर्छ र थरीथरीका मीठाइ (नैवेद्य), फलफूल, खाने मसला, दही, पान र अन्य भोज्यपदार्थ भगवती दुर्गालाई समर्पण गर्नुपर्छ । त्यसपछि दक्षिणा (द्रव्य) चढाएर हर्षोल्लासपूर्वक शङ्ख, घण्टा, डमरु बजाउनुका साथै चमर डोलाउनु पर्दछ । देवीको आरतीका क्रममा घिउ वा सूर्यमुखी तेलको वर्तन राखी आरती गर्नुपर्छ र पूजाको समापनमा क्षमा प्रार्थना गर्दै स्तुतिपूर्वक पूजा विसर्जन गर्नुपर्छ ।

श्रद्धापूर्वक नवरात्रका सबै पावन तिथिहरूमा यथाशक्य विधिविधानले पूजाअर्चना गरेमा दुर्गाभवानी प्रसन्न भई साधकले शास्त्रमा उल्लेखभए बमोजिम शास्त्रीय फल प्राप्त गर्दछ भन्ने विश्वास छ । भगवतीको पूजाअर्चना गरेर श्री दुर्गा सप्तशती चण्डीको श्रद्धापूर्वक पाठ गरेमा अझ बढी फल प्राप्त हुन्छ ।


ความคิดเห็น


Who's Behind The Blog
Recommanded Reading
Search By Tags
Follow "THIS JUST IN"
  • Facebook Basic Black
  • Twitter Basic Black
  • Black Google+ Icon

Also Featured In

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

Donate with PayPal

© 2023 by "This Just In". Proudly created with astrosimara

bottom of page